मनसुनको प्रभाव विस्तार हुँदै, पहाडी क्षेत्रमा वर्षा र केही तराई क्षेत्रमा तातो लहरको सम्भावना
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । हाल देशका पूर्वी तथा मध्य क्षेत्रका अधिकांश भूभागमा मनसुनी वायु सक्रिय बन्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
यसको प्रभावका कारण अहिले देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागका अधिकांश क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई क्षेत्रमा पनि मौसम सामान्य बदली रहने अनुमान गरिएको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
मौसमविद्का अनुसार देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर कायम रहने सम्भावना छ। बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि तातो दिनको अवस्था देखिन सक्ने जनाइएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र मधेस प्रदेशका केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन र तातो लहर प्रभावित क्षेत्रमा पर्याप्त पानी सेवन तथा अत्यधिक घामबाट जोगिन सुझाव दिएका छन्।







