फिफाद्वारा एन्फा निलम्बन, नेपाली फुटबल अन्तर्राष्ट्रिय संकटमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of फिफाद्वारा एन्फा निलम्बन, नेपाली फुटबल अन्तर्राष्ट्रिय संकटमा

काठमाडौ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको घोषणा गरेको छ।

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको जनाएको छ। यससँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार तत्कालका लागि गुमाएको छ।

निलम्बन लागू भएसँगै एन्फाका राष्ट्रिय टोली, उमेर समूहका टोली तथा नेपाली क्लबहरूले फिफा तथा एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने भएका छन्।

साथै एन्फाका पदाधिकारी तथा प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा आधिकारिक रूपमा सहभागिता जनाउन पनि नपाउने अवस्था सिर्जना भएको छ। फिफा र एएफसीले यसअघि नै नेपाली फुटबल प्रशासनमा तेस्रो पक्षको हस्तक्षेपबारे गम्भीर चिन्ता व्यक्त गर्दै सुधारका लागि चेतावनी दिएका थिए। सम्बन्धित निर्णय फिर्ता नभए निलम्बन हुन सक्ने संकेत यसअघि नै गरिएको थियो।

यो निर्णयले नेपाली फुटबलका आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता, खेलाडीको तयारी र संघको नियमित गतिविधिमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अब निलम्बन फुकुवाका लागि फिफाले तोकेका सर्त पूरा गर्नुपर्नेछ।