विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले पक्राउको आधारबारे स्पष्ट पार्न आदेश दिएको हो।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा गरिएको पक्राउबारे सम्बन्धित निकायसँग कारण माग गरेको छ। रिट निवेदनमा पक्राउका लागि पर्याप्त कानुनी आधार नरहेको दाबी गर्दै थुनाबाहिरै बसेर पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ।
दोमाया पौडेलले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा उल्लेख गरिएअनुसार, पौडेललाई असार ८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि अदालतले उनलाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताइएको छ।
अब सर्वोच्च अदालतले माग गरेको जवाफ प्राप्त भएपछि रिटमाथिको थप सुनुवाइ हुनेछ। पक्राउ प्रक्रिया कानुनसम्मत थियो वा थिएन भन्ने विषय अदालतको आगामी आदेशपछि थप स्पष्ट हुने जनाइएको छ ।







