रास्वपा महाधिवेशनः पदाधिकारी चयनमा सहमतिको कसरत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशनः पदाधिकारी चयनमा सहमतिको कसरत

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बाँकी पदाधिकारी चयनका लागि सहमतिको प्रयास तीव्र पारिएको छ।

सभापतिसहित ९९ जना केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भइसके पनि दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी ६ पदमा अझै टुंगो लाग्न बाँकी छ। यी पदका लागि नवनिर्वाचित केन्द्रीय सदस्यले दोस्रो चरणमा मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था छ।

तर केन्द्रीय सदस्य निर्वाचन सकिएपछि धेरै प्रतिनिधि घर फर्कन थालेको र मतदाता संख्या घटेको अवस्थालाई मध्यनजर गर्दै शीर्ष नेताहरू सहमतिबाटै पदाधिकारी चयन गर्ने प्रयासमा जुटेका छन्। रास्वपाका नेताहरू शिशिर खनाल र विपिन आचार्यले पदाधिकारी चयनका लागि सहमतिको पहल भइरहेको बताएका छन्।

नेताहरूबीच छलफल जारी रहेको र सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको जनाइएको छ। यद्यपि, सहमति नजुटेमा आजै अपराह्न ४ बजेदेखि पदाधिकारीका लागि मतदान प्रक्रिया सुरु गर्ने तयारी रहेको नेता मनिष झाले बताएका छन्।

तीन दिनभित्र सक्ने लक्ष्यसहित सुरु भएको रास्वपाको महाधिवेशन निर्वाचन प्रक्रियामा ढिलाइ हुँदा पाँचौँ दिनसम्म लम्बिएको छ। अब पदाधिकारी चयनसँगै महाधिवेशनको अन्तिम चरण पूरा हुनेछ।