कक्षा १२ को नतिजामा त्रुटि भएको भन्दै विद्यार्थी संगठनको आपत्ति, सुधारको माग

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कक्षा १२ को नतिजामा त्रुटि भएको भन्दै विद्यार्थी संगठनको आपत्ति, सुधारको माग

काठमाडौ । कक्षा १२ को परीक्षाफलमा देखिएका त्रुटिप्रति विभिन्न ११ विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्।

छिटो नतिजा सार्वजनिक गर्ने नाममा विद्यार्थीको मेहनत र भविष्यमा खेलवाड गरिएको भन्दै उनीहरूले सम्बन्धित निकायलाई सचेत गराएका हुन्। बिहीबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै विद्यार्थी संगठनहरूले परीक्षाफल प्रकाशनमा देखिएका कमजोरी तत्काल सच्याउन माग गरेका छन्।

समयमै नतिजा सार्वजनिक गर्ने प्रयास सकारात्मक भए पनि हतारका कारण भएका त्रुटि स्वीकार्य नहुने उनीहरूको भनाइ छ। विद्यार्थी संगठनहरूले मूल्याङ्कन प्रक्रियामा पारदर्शिताको अभाव, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नहुँदा विद्यार्थीहरू समस्यामा परेको बताएका छन्।

यसै विषयलाई लिएर असन्तुष्ट विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले प्रभावित विद्यार्थीको मागप्रति ऐक्यबद्धता जनाउँदै नतिजामा देखिएका त्रुटि समाधान गर्न, पुनर्मूल्याङ्कन प्रक्रिया वैज्ञानिक बनाउन र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन शिक्षा मन्त्रालयसँग माग गरेको छ।

शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले यसपटक कक्षा १२ को नतिजा ४५ दिनमै सार्वजनिक गरेको थियो। तर, हतारमा नतिजा सार्वजनिक गर्दा धेरै विद्यार्थीको अंकमा समस्या देखिएको भन्दै विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।

विद्यार्थीहरूले पुनर्योग र मौका परीक्षाको व्यवस्था सहज बनाउन तथा शुल्क घटाउन पनि माग गरेका छन्। हाल एउटा विषयको पुनर्योगका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।