कांग्रेसका असन्तुष्ट समूहले १५औँ महाधिवेशन लक्षित सम्पर्क कार्यालय खोल्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेसका असन्तुष्ट समूहले १५औँ महाधिवेशन लक्षित सम्पर्क कार्यालय खोल्ने

काठमाडौ । नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक विवादका बीच निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले संयुक्त रूपमा छुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेका छन्।

कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार १५औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर काठमाडौंको महाराजगन्ज स्थित चुनदेवी क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको हो। उनका अनुसार कार्यालय एक–दुई दिनभित्र सञ्चालनमा आउनेछ।

विश्वकर्माले नियमित महाधिवेशनको पक्षमा रहेका नेता तथा कार्यकर्ताहरूबीच भेटघाट, छलफल र समन्वयका लागि कार्यालय उपयोग हुने बताए। उनले कार्यालयलाई आगामी महाधिवेशनसम्बन्धी गतिविधिको केन्द्रका रूपमा विकास गर्ने तयारी रहेको जानकारी दिए।

गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्रको विवाद थप चर्किएको छ। तत्कालीन केन्द्रीय समिति र सभापति देउवाको असहमतिका बीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पार्टीभित्र दुई धारबीचको दूरी अझ बढेको बताइन्छ।

विशेष महाधिवेशनलाई देउवा समूह, कोइराला समूह तथा कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेका थिए। अहिले ती तीनै धारका नेताहरू संयुक्त रूपमा सम्पर्क कार्यालय स्थापना गर्ने तयारीमा जुटेका छन्। निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पनि नियमित महाधिवेशन पक्षधर नेताहरूका बैठक, छलफल र रणनीति निर्माणका लागि कार्यालय आवश्यक भएको बताए। उनका अनुसार कार्यालयको स्थान तय भइसकेको छ र छिट्टै औपचारिक रूपमा सञ्चालनमा ल्याइनेछ।

यता, पार्टी संस्थापन पक्षले १५औँ महाधिवेशनको तयारीस्वरूप नवीकरण भएका क्रियाशील सदस्यहरूको सदस्यता पुनः अद्यावधिक गर्ने निर्णय गरेको छ। तर असन्तुष्ट समूहहरूले उक्त निर्णयलाई स्वीकार नगर्ने अडान लिएका छन् र सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी भएका छैनन्।

क्रियाशील सदस्यताको विषयमा विवाद तीव्र बनेका बेला छुट्टै सम्पर्क कार्यालय खोल्ने निर्णयलाई कांग्रेसभित्रको शक्ति संघर्ष र आगामी महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ। यसले पार्टीभित्रको ध्रुवीकरण अझ स्पष्ट बनाएको राजनीतिक वृत्तमा चर्चा छ।