रास्वपा महाधिवेशनको दोस्रो चरणको निर्वाचन ढिलो, उम्मेदवार सूची सार्वजनिक हुन सकेन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिकाभन्दा पछाडि धकेलिएको छ।
उम्मेदवारहरूको प्रारम्भिक नामावली समयमै सार्वजनिक हुन नसक्दा मतदान सुरु हुन सकेको छैन। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको प्रारम्भिक सूची राति १ बजे सार्वजनिक गर्ने र बिहान ४ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको थियो। तर बिहानसम्म पनि सूची प्रकाशन हुन नसकेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार प्रारम्भिक सूची सार्वजनिक भएपछि दाबी–विरोध, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारहरूको विवरण प्रविष्ट गर्ने प्रक्रिया पूरा गर्नुपर्ने भएकाले मतदान अझ केही समयपछि मात्र सुरु हुने सम्भावना देखिएको छ।
यसअघि महाधिवेशनबाट सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। खुला उपसभापति पदमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी महामन्त्री पदका दाबेदार शिशिर खनालले समेत उम्मेदवारी फिर्ता लिएका छन्।
अब महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुने तय भएको छ। महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा रहनेछ।
महामन्त्री पदका लागि मनीष झा, विपिन आचार्य, कवीन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
यसबीच पदाधिकारी चयनमा सहमति खोज्ने प्रयास जारी रहेकाले पनि निर्वाचन प्रक्रिया प्रभावित भएको बताइएको छ। समयतालिका प्रभावित भएपछि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन्।







