भेनेजुएलामा शक्तिशाली भूकम्पपछि मृत्यु संख्या २३५ पुग्यो, हजारौँ घाइते

User Image Prime TV News ३ हप्ता अगाडि
Image of भेनेजुएलामा शक्तिशाली भूकम्पपछि मृत्यु संख्या २३५ पुग्यो, हजारौँ घाइते

काठमाडौ । दक्षिण अमेरिकी देश भेनेजुएलामा बुधबार साँझ गएको शक्तिशाली दोहोरो भूकम्पपछि मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ।

सरकारी विवरणअनुसार हालसम्म २३५ जनाको मृत्यु पुष्टि भएको छ भने ४ हजार ३ सयभन्दा बढी मानिस घाइते भएका छन्  । भेनेजुएलाका स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले सरकारी टेलिभिजनमार्फत दिएको जानकारीअनुसार उद्धार तथा राहत कार्य अझै जारी रहेकाले क्षतिको विवरण थप अद्यावधिक हुन सक्ने अवस्था रहेको छ।

स्थानीय समयअनुसार बुधबार साँझ सुरुमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको जनाइएको छ। दुवै भूकम्पका कारण राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवन, घर तथा पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ।

भूकम्पपछि अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले प्रारम्भिक जोखिम मूल्याङ्कन गर्दै ठूलो मानवीय क्षति हुन सक्ने संकेत गरेको थियो। प्रारम्भिक विश्लेषणमा उच्च मृत्युदरको सम्भावना देखाइएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार धेरै भवनका भग्नावशेषभित्र अझै मानिस फसेको आशंका गरिएको छ। केही स्थानबाट उद्धार टोलीले आवाज सुनेको जानकारी सार्वजनिक भएकाले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सरकारले प्रभावित क्षेत्रमा उद्धार टोली, स्वास्थ्यकर्मी र आपत्कालीन सहायता परिचालन गरेको जनाएको छ भने नागरिकलाई परकम्पको जोखिमका कारण सतर्क रहन आग्रह गरिएको छ।