होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई थप एक हप्ता समय, असार १९ सम्म म्याद थप
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सरकारले काठमाडौं उपत्यकाका नदी किनार क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ताको समय दिएको छ।
यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिइएकोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नयाँ सूचना जारी गर्दै अब असार १९ गतेसम्मको समयसीमा दिएको जनाएको छ।
समितिका अनुसार घर भाडा व्यवस्थापन तथा वैकल्पिक बसोबासको तयारीका लागि दिइएको समय छोटो भएको गुनासो आएपछि समय थप गरिएको हो। सूचनामा होल्डिङ सेन्टरमा बसोबास गरिरहेका व्यक्तिहरूलाई स्वव्यवस्थापनका लागि थप समय उपलब्ध गराइएको उल्लेख गरिएको छ।
यसअघि सरकारले वैशाख महिनामा काठमाडौं उपत्यकाभित्रका नदी किनार क्षेत्रमा रहेका बस्ती हटाएको थियो। त्यसपछि प्रभावित परिवारहरूको विवरण संकलन गरी केहीलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो।
सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएर स्वव्यवस्थापन गर्न दिने योजना अघि बढाएको छ। उक्त रकम प्राप्त गर्नका लागि प्रभावित व्यक्तिलाई असार १५ गतेभित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बर सहित निवेदन दिन आग्रह गरिएको छ।
तर सरोकारवाला तथा प्रभावित परिवारहरूले स्थायी व्यवस्थापनबिना आर्थिक सहायता मात्रै दिएर हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइमा नदी किनारबाट हटाउँदा निश्चित अवधिभित्र वैकल्पिक व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको भए पनि त्यसअनुसार काम नभएको छ।
प्रभावित समूहले उचित बसोबासको विकल्प नदिई होल्डिङ सेन्टरबाट हटाइए पुनः पुरानै क्षेत्रमा फर्किनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
सरकारी तथ्यांकअनुसार सुकुमवासीका रूपमा नाम दर्ता गराउने २ हजार ६०८ जनामध्ये हाल ३८८ जना होल्डिङ सेन्टरमा बसिरहेका छन् भने बाँकीले आफ्नै व्यवस्थापनमा बसोबास गरिरहेका छन्।







