रास्वपा निर्वाचन विवाद: बढी मत ल्याए पनि पराजित पूजा बाँस्तोलाले गरिन् सर्वोच्च जाने घोषणा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा निर्वाचन विवाद: बढी मत ल्याए पनि पराजित पूजा बाँस्तोलाले गरिन् सर्वोच्च जाने घोषणा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा बढी मत ल्याए पनि विजयी घोषित नभएको भन्दै उम्मेदवार पूजा बाँस्तोलाले सर्वोच्च अदालत जाने घोषणा गरेकी छन्।

उनले आफू अन्यायमा परेको दाबी गर्दै कानुनी उपचार खोज्ने तयारी गरेको बताएकी हुन्। बाँस्तोलाले सामाजिक सञ्जालमार्फत आफूले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गरिसकेको भए पनि चित्तबुझ्दो जवाफ नआएको उल्लेख गरेकी छन्।

उनका अनुसार उजुरीपछि उल्टै धम्कीपूर्ण शैलीमा विषय दबाउन खोजिएको अनुभव भएको छ। सोही कारण अब सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णयमा पुगेको उनले बताएकी छन्। रास्वपाको हालै सम्पन्न केन्द्रीय सदस्य निर्वाचनपछि उत्पन्न यो विवादले पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया र पारदर्शिताबारे प्रश्न उठाएको छ।

यस्तो छ उनको भनाइ–

प्रेस विज्ञप्ति

म राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचनमा सहभागी भएँ । तपाईं प्रतिनिधि साथीहरूले मलाई विश्वास गरेर ९१३ मत दिनुभयो । महिलातर्फ शीर्ष २ र खुलातर्फ शीर्ष ५ भित्र पर्ने गरी प्राप्त भएको यो मतप्रति म हृदयदेखि नै आभारी छु ।

तर, अत्यन्त दुःखका साथ भन्नुपरेको छ, निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणाममा मभन्दा कम मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुँदा पनि मलाई विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत बाहिर राखिएको छ ।

मेरो लागि यो विषय कुनै पद, विजय वा पराजयको प्रश्न होइन । यो पद्धतिको प्रश्न हो । यो सुशासनको प्रश्न हो । यदि लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिन्छ, मत परिणामभन्दा फरक नतिजा घोषणा गरिन्छ र त्यसलाई स्वीकार गर्न दबाब सिर्जना गरिन्छ भने त्यसले हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ ।

लोकतन्त्रको शक्ति परिणाममा मात्र हुँदैन, परिणामसम्म पुग्ने प्रक्रियाको विश्वसनीयतामा हुन्छ । प्रक्रिया निष्पक्ष भयो भने जित्नेले गर्वका साथ जित स्वीकार गर्न सक्छ, हार्नेले सम्मानका साथ परिणाम स्वीकार गर्न सक्छ । तर प्रक्रिया नै अन्यायपूर्ण भयो भने त्यसविरुद्ध आवाज उठाउनु मेरो जिम्मेवारी पनि हो ।

मैले यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गराइसकेको छु । तर चित्तबुझ्दो जवाफ नआएको र उल्टै धम्कीपूर्ण शैलीमा विषयलाई दबाउन खोजिएको अनुभव गरेपछि अब म सर्वोच्च अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने निर्णयमा पुगेकी छु ।

यो संघर्ष मेरो व्यक्तिगत हितका लागि होइन । यो मलाई विश्वास गरेर मत दिनुहुने ९१३ प्रतिनिधिको मतको सम्मानका लागि हो । यो सही प्रक्रिया, पारदर्शिता र संस्थागत न्यायको पक्षमा उभिने प्रयास हो । पदभन्दा ठूलो पद्धति हुन्छ र म पद्धतिको पक्षमा अन्तिमसम्म उभिनेछु ।

धन्यवाद ।

पुजा बाँस्तोला