स्याङ्जाको वालिङमा जिप दुर्घटना: एकको मृत्यु, १८ घाइते

User Image Prime TV News ३ हप्ता अगाडि
Image of स्याङ्जाको वालिङमा जिप दुर्घटना: एकको मृत्यु, १८ घाइते

काठमाडौ । वालिङ नगरपालिका–७ लभ्लीडाँडा क्षेत्रमा मिर्दी–चापाकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

शुक्रबार बिहान ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा घाइते भएका वालिङ–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरूमा वालिङ–७ की रूपकला सारू, रुपन्देहीकी सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोतीकी मायादेवी सुनारी रहेका छन्। त्यस्तै मायादेवी सुनारीकी १२ वर्षीया छोरी कर्मिसा सुनारीसहित अन्य यात्रुहरू मध्यम घाइते भएका छन्। घाइतेहरूमा स्थानीय बासिन्दासँगै पोखरा, देवदह र बिरुवा क्षेत्रका यात्रुहरू पनि रहेका छन्।

प्रहरीका अनुसार केही घाइतेको अवस्था सामान्य छ भने जिप चालक मिनबहादुर सारूलाई सामान्य चोट लागेको र नियन्त्रणमा राखिएको छ। दुर्घटनापछि सबै घाइतेलाई प्रारम्भिक उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। गम्भीर र मध्यम अवस्थाका १२ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।