देशभर मनसुन विस्तारको क्रम जारी, केही क्षेत्रमा वर्षा र केही स्थानमा तातो हावाको सम्भावना
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । देशका पूर्वी तथा मध्य भूभागमा मनसुन सक्रिय बन्दै गएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ।
महाशाखाले गण्डकी र लुम्बिनीका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन थप विस्तार हुने सम्भावना रहेको जनाएको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने जनाइएको छ।
त्यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने अनुमान छ। केही स्थानमा चट्याङसहित वर्षा जारी रहन सक्ने भएकाले यात्रु, किसान तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानजन्य जोखिमप्रति सचेत रहन महाशाखाले अनुरोध गरेको छ।







