विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ, कारागारभित्र अवैध असुली गरेको आरोप
Prime TV News ३ हप्ता अगाडि 
विराटनगर । विराटनगरका नेपाली कांग्रेससँग आबद्ध नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गिरीलाई कारागारभित्र अवैध असुली धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको छ। बिहानैदेखि प्रहरी टोलीले उनको घर घेरा हालेर खानतलासी गरेको थियो।
प्रहरीले घरबाट के–कस्ता सामग्री बरामद भएका छन् भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु राखिएको आशंकामा खानतलासी गरिएको र थप अनुसन्धान जारी रहेको बताएका छन्।
गिरी यसअघि पनि विभिन्न आपराधिक गतिविधिसँग जोडिएर विवादमा आएका व्यक्ति मानिन्छन्। उनी अपहरणसम्बन्धी मुद्दामा कारागारमा रहेका बेला पनि पटक–पटक विवादमा तानिएका थिए।
कैद अवधि पूरा गरी रिहा भएपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए। प्रहरी अनुसन्धान अनुसार उनीमाथि कैदीबन्दीबाट रकम असुली तथा भत्तासम्बन्धी अनियमितताको आरोप लागेको छ।
यद्यपि अभिषेक गिरीले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउने प्रयास भइरहेको दाबी गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







