हेज्बुल्लाहले लेबनान–इजरायल युद्धविराम अस्वीकार गर्‍यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of हेज्बुल्लाहले लेबनान–इजरायल युद्धविराम अस्वीकार गर्‍यो

काठमाडौ । हेज्बुल्लाहका महासचिव शेख नइम कासेमले अमेरिकाको मध्यस्थतामा लेबनान र इजरायलबीच भएको युद्धविराम सम्झौता स्वीकार नगर्ने घोषणा गरेका छन्।

उनले उक्त सम्झौतालाई लेबनानको सार्वभौमसत्तामाथिको हस्तक्षेप र इजरायली उपस्थितिलाई वैधानिकता दिने प्रयासका रूपमा व्याख्या गरेका छन्। सार्वजनिक वक्तव्यमा उनले इजरायल दक्षिणी लेबनानबाट पूर्ण रूपमा फिर्ता नभएसम्म प्रतिरोध जारी रहने बताएका छन्।

इरानी समाचार एजेन्सीका अनुसार कासेमले इरान–अमेरिका समझदारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै हालको व्यवस्थाले लेबनानको राजनीतिक र सुरक्षा सन्तुलन कमजोर बनाउन सक्ने दाबी गरेका छन्।

उनले हेज्बुल्लाहले हतियार त्यागेपछि मात्रै इजरायली सेना फिर्ता हुने प्रस्तावलाई अस्वीकार्य र जोखिमपूर्ण बताएका छन्। उनका अनुसार यस्तो व्यवस्था दीर्घकालीन रूपमा लेबनानको नियन्त्रण र प्रभाव कमजोर बनाउन सक्ने खतरा रहेको छ।

यसबीच लेबनानका सरकारी सञ्चारमाध्यमले दक्षिणी लेबनानको नाबाटिह क्षेत्रमा इजरायली ड्रोन आक्रमण भएको उल्लेख गरेका छन्। युद्धविराम सम्झौतापछि पनि सीमावर्ती क्षेत्रमा तनाव पूर्ण रूपमा कम नभएको संकेत देखिएको छ।

हालै इरान र अमेरिकाबीच भएको समझदारी पत्रमा क्षेत्रीय तनाव घटाउने र लेबनानको अवस्थाबारे पनि समन्वय गर्ने विषय समावेश भएको बताइएको छ ।