विश्वकपमा समूह चरणका खेल सकियो, विश्वकप अब नकआउट तर्फ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विश्वकपमा समूह चरणका खेल सकियो, विश्वकप अब नकआउट तर्फ

काठमाडौ । फिफा विश्वकप २०२६ को समूह चरण आइतबार सम्पन्न भएको छ। समूह ‘जे’ अन्तर्गत अर्जेन्टिना–जोर्डन तथा अल्जेरिया–अस्ट्रियाबीचका अन्तिम खेल सकिएसँगै राउन्ड अफ ३२ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

यस संस्करणमा पहिलो पटक ४८ राष्ट्र सहभागी भएका थिए। प्रतियोगिताको नयाँ ढाँचाअनुसार १२ समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानका टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन्।

समूह चरणको अन्तिम दिन अल्जेरिया र अस्ट्रियाबीचको ३–३ को रोमाञ्चक बराबरीले दुवै टोलीलाई अर्को चरणमा पुर्‍यायो। अर्जेन्टिनाले भने समूह विजेताका रूपमा अघि बढ्दै राउन्ड अफ ३२ मा केप भर्डेसँग प्रतिस्पर्धा गर्ने भएको छ। अस्ट्रियाको भेट स्पेनसँग हुनेछ भने अल्जेरियाले स्विट्जरल्यान्डको सामना गर्नेछ।

राउन्ड अफ ३२ का खेलहरू जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछन्। यस चरणबाट विजयी हुने टोलीहरूले अन्तिम १६ मा स्थान बनाउनेछन् र त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल हुँदै जुलाई १९ मा हुने फाइनलसम्मको यात्रा तय गर्नेछन्।