एमाले सांसद कँडेलद्वारा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिहाइको माग

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमाले सांसद कँडेलद्वारा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिहाइको माग

काठमाडौ । नेकपा एमालेका सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको तत्काल रिहाइको माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाए। उनले पौडेललाई पक्राउ गरिएको आधारमाथि समेत प्रश्न उठाउँदै घटनालाई प्रमुख प्रतिपक्षलाई कमजोर बनाउने प्रयासका रूपमा चित्रण गरे।

“एकजना उहाँका प्रतिस्पर्धी तथा वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको पोलका आधारमा उहाँलाई समातिएको भन्ने समाचार आएका छन्,” कँडेलले भने, “यो गिरफ्तारी गत चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण कारबाहीकै अर्को रूप हो।”

उनले पौडेलविरुद्धको कारबाही सम्पूर्ण विपक्षीलाई तर्साउने र एमालेलाई बदनाम गर्ने उद्देश्यले गरिएको दाबी गरे। पौडेल निर्दोष रहेको दाबी गर्दै उनले अनुसन्धान निष्पक्ष हुनुपर्नेमा जोड दिए। “काँक्रो आफू खाने र बियाँ अर्कोतिर लगाइदिने व्यवहार निन्दनीय छ,” उनले संसदमा भने।

पूर्वअर्थमन्त्री पौडेललाई असार ९ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो। यस विषयमा सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया कानुनअनुसार अघि बढिरहेको जनाएको छ।