जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन माग्दै ओली र लेखकद्वारा निवेदन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको छानबिन तथा अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गर्दै आयोगमा निवेदन दिएका छन्।
ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार हरिहर भवन स्थित आयोगको कार्यालय पुगेर प्रतिवेदन उपलब्ध गराइदिन माग गर्दै निवेदन दर्ता गराएका हुन्। त्यही दिन पूर्वगृहमन्त्री लेखक पनि आयोगमा पुगेर सम्बन्धित कागजात उपलब्ध गराइदिन अलग्गै निवेदन दिएका थिए।
निवेदनमा आयोगले भदौ २३ र २४ गतेको घटनाबारे गरेको अनुसन्धान तथा निर्णय प्रक्रियामा उल्लेख भएका तथ्य र निष्कर्षहरूबारे प्रश्न उठाइएको छ। ओलीले आयोगको निर्णय नम्बर १७७ को सार्वजनिक विवरण र त्यसको सिफारिस खण्डबीच मेल नखाएको दाबी गरेका छन्।
उनले आफू तत्कालीन प्रधानमन्त्रीका रूपमा गरेका काम कानुनविपरीत नभएको निष्कर्ष एकातिर उल्लेख भए पनि अर्कोतर्फ कानुन विपरीत कारबाही सिफारिस गरिएको भनिएको विषयप्रति विश्वास गर्न कठिन भएको उल्लेख गरेका छन्।
निवेदनमा आगजनी, संवैधानिक निकायमाथिको आक्रमण तथा राज्य संरचनामा अव्यवस्था सिर्जना गर्ने कार्यमा संलग्न व्यक्तिबारे आयोग मौन रहेको आरोपसमेत लगाइएको छ।
ओलीले आयोगको निर्णय नम्बर १७७ को प्रमाणित प्रतिलिपि, आयोग सदस्य लिली थापा नेतृत्वको समितिको प्रतिवेदन, संकलित प्रमाण तथा बयानहरूको प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन्। साथै, प्रतिवेदनमा भएको संशोधन, थपघट र त्यसका आधारबारे स्पष्ट विवरण पनि माग गरिएको छ।
पूर्वगृहमन्त्री लेखकले पनि आयोगको समितिको कार्यक्षेत्र, प्रतिवेदन र निर्णयका आधार प्रमाण उपलब्ध गराउन माग गरेका छन्। निवेदन दिएको १५ दिनभित्र प्रतिलिपि उपलब्ध हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्। एमाले नेता बर्तौलाका अनुसार, माग गरिएका कागजात नदिइए कानुनी बाटो अपनाइने विकल्पसमेत खुला राखिएको छ।







