२३–२४ भदौको घटनालाई लिएर ओलीको टिप्पणी, लोकतन्त्रमाथि प्रहार भएको दाबी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको घटनालाई लोकतन्त्र विरुद्धको प्रतिगामी षड्यन्त्र भएको बताएका छन्।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले उक्त घटनाले नेपालको वामपन्थी आन्दोलन मात्र नभई लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गरेको दाबी गरे।
उनले वैधानिक सरकारलाई अवैधानिक ढंगले विस्थापन गरिएको आरोप लगाउँदै त्यस्तो कार्य लोकतान्त्रिक प्रक्रिया अनुसार हुन नसक्ने बताए। सरकार गठन, परिवर्तन वा हटाउने अधिकार संसद्को हुने उल्लेख गर्दै उनले वैधानिक सरकारलाई बलपूर्वक हटाएर अर्को सरकार गठन गर्नु संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको धारणा राखे।
कार्यक्रममा ओलीले लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि संवैधानिक प्रक्रिया र संसदीय अभ्यासको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।







