रास्वपाको संघीयता सम्बन्धी प्रस्ताव अवसरवादी : वर्षमान पुन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता सम्बन्धी अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी र असान्दर्भिक भएको टिप्पणी गरेका छन्।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले निर्वाचनका क्रममा रास्वपाले विभिन्न प्रदेशमा पुगेर संघीयतालाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले प्रदेश संरचना खारेज गर्ने प्रस्ताव ल्याउनु जनमतविपरीत भएको बताए।
उनले रास्वपाभित्र संघीयता सम्बन्धी स्पष्ट वैचारिक दृष्टिकोणको अभाव रहेको दाबी गर्दै पार्टी नेतृत्वका फरक–फरक धारणा सार्वजनिक हुनु वैचारिक अस्पष्टताको संकेत भएको उल्लेख गरे। पुनले संघीयता र लोकतन्त्र लामो राजनीतिक संघर्ष तथा जनताको बलिदानबाट स्थापित व्यवस्था भएकाले त्यसलाई कमजोर बनाउने वा अस्थिर बनाउने प्रयास उचित नहुने धारणा राखे। प्रदेश सभाविहीन संरचनाले संघीय शासन प्रणालीको मूल मर्मलाई कमजोर बनाउने उनको भनाइ थियो।
उनका अनुसार संघीयताको सार भनेको जनताले निर्वाचित गरेका प्रतिनिधिमार्फत शासन सञ्चालन हुनु हो, केवल प्रशासनिक संरचना कायम गर्नु मात्र संघीयताको उद्देश्य पूरा गर्नु होइन। रास्वपाले नयाँ राजनीतिक संस्कारको कुरा गरे पनि पछिल्ला अभिव्यक्ति र प्रस्तावहरूले राजनीतिक अपरिपक्वता तथा लोकप्रियतामुखी प्रवृत्ति झल्काएको आरोप पनि पुनले लगाए।







