काठमाडौं उपत्यका र काभ्रेमा बर्डफ्लु संक्रमण तीव्र, ५७ स्थानमा पुष्टि

User Image Prime TV News ३ हप्ता अगाडि
Image of काठमाडौं उपत्यका र काभ्रेमा बर्डफ्लु संक्रमण तीव्र, ५७ स्थानमा पुष्टि

काठमाडौ । काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा बर्डफ्लुको संक्रमण तीव्र रूपमा फैलिएको छ। पशु सेवा विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका ५७ स्थानमा संक्रमण पुष्टि भइसकेको छ।

विभागका अनुसार १० असारसम्म ४० स्थानमा सीमित रहेको संक्रमण पछिल्ला तीन दिनमै थप १७ स्थानमा फैलिएको हो। सबैभन्दा बढी प्रभावित भक्तपुरमा २५ स्थानमा संक्रमण पुष्टि भएको छ भने काठमाडौंका १५, ललितपुरका १२ र काभ्रेका ५ स्थानमा बर्डफ्लु देखिएको छ।

वरिष्ठ पशु चिकित्सकका अनुसार स्थानीय स्तरमा पालिएका कुखुरामा संक्रमण फैलिएकाले नियन्त्रण चुनौतीपूर्ण बनेको छ। संक्रमित कुखुरा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग र अन्य जनावरमार्फत भाइरस एक स्थानबाट अर्को स्थानमा फैलिरहेको बताइएको छ । मरेका कुखुरा सुरक्षित रूपमा खाल्डोमा गाड्न किसानलाई आग्रह गर्दै संक्रमण स्रोत समयमै नष्ट गर्न नसके भाइरस थप जटिल बन्न सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् । 

संक्रमण नियन्त्रणका लागि सरकारले हालसम्म देशभर ६ लाख ६ हजारभन्दा बढी कुखुरा, करिब १० लाख अन्डा र ठूलो परिमाणमा दाना नष्ट गरिसकेको छ। काठमाडौं उपत्यकामा मात्रै १ लाख ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको विभागले जनाएको छ।

कुखुरा नष्ट भएका किसानलाई राहत उपलब्ध गराउन सरकारले ५२ करोड रुपैयाँ व्यवस्था गरेको छ। विभागका अनुसार प्रारम्भिक मूल्यांकनमा करिब ५७ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने सरकारले क्षतिको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने तयारी गरेको छ।

बर्डफ्लुको त्रासका कारण काठमाडौं उपत्यकामा कुखुराको मासुको बिक्री २० देखि ३० प्रतिशतसम्म घटेको व्यवसायीहरूले बताएका छन्। यद्यपि स्वास्थ्य विज्ञहरूले कुखुराको मासु र अन्डा कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा राम्रोसँग पकाएर सेवन गरे सुरक्षित हुने बताएका छन्।

पशु सेवा विभागले किसानलाई फार्ममा जैविक सुरक्षा कडाइका साथ लागू गर्न, पन्छीमा असामान्य लक्षण देखिए वा एक्कासि मर्न थाले तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन तथा मरेका पन्छी जथाभावी नफाल्न आग्रह गरेको छ।