आज राष्ट्रिय धान दिवस : दही चिउरा खाएर असार १५ मनाइँदै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपाइँ, दही–चिउरा खाने परम्परा र कृषि संस्कृतिको उत्सवका रूपमा मनाइँदैछ।
खेतमा काम गरेर थकित भएका किसानले शरीरमा शीतलता र शक्ति मिल्ने विश्वासका साथ दही–चिउरा खाने गर्छन्। असार १५ नेपाली समाजमा केवल कृषि दिवस मात्र नभई दही–चिउरा खाने सांस्कृतिक पर्वका रूपमा पनि स्थापित छ।
खेतीबाहेक अन्य पेसा र व्यवसायमा संलग्न नेपालीहरूले पनि आजको दिन दही–चिउरा खाएर पर्व मनाउने परम्परा छ। नेपाली संस्कृतिमा दहीलाई शुभ मानिन्छ। महत्त्वपूर्ण काममा निस्कनुअघि दही सगुनका रूपमा खाने तथा दही–अक्षता लगाउने चलन रहिआएको छ।
वैज्ञानिक रूपमा पनि दहीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ भने आयुर्वेदमा पाचन प्रणालीका लागि उपयोगी मानिएको छ। नेपालमा २०६२ सालदेखि औपचारिक रूपमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
कृषिप्रधान देश भएकाले असार महिना किसानका लागि सबैभन्दा व्यस्त समय मानिन्छ। यस दिन असारे भाका गाउँदै हिलोमा धान रोप्ने, खेतमै रमाइलो गर्ने र कृषि संस्कृतिको संरक्षण गर्ने परम्परा रहँदै आएको छ।
यद्यपि यस वर्ष मनसुन पूर्ण रूपमा फैलिन नसक्दा देशका धेरै क्षेत्रमा अपेक्षित मात्रामा रोपाइँ हुन सकेको छैन। केही स्थानमा मल अभावको गुनासो पनि आएको छ, यद्यपि सरकारले आवश्यक मौज्दात रहेको जनाएको छ ।







