कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन गृहमन्त्रीको निर्देशन, आफ्नै गाडीबाट सुरु गर्ने घोषणा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन गृहमन्त्रीको निर्देशन, आफ्नै गाडीबाट सुरु गर्ने घोषणा

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले अभियान सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै आफूले प्रयोग गर्ने गाडीको कालो सिसासमेत हटाउन निर्देशन दिए।

उनले ट्राफिक प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै भने, “मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस्।” उनको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्रीले प्रयोग गर्दै आएको सवारीको कालो सिसा पनि हटाउने तयारी गरेको जनाएको छ।

यसअघि गृहमन्त्रीले प्रयोग गर्ने सरकारी सवारीमा कालो सिसा राख्ने प्रचलन रहे पनि गुरुङ प्रायः आफ्नै निजी गाडीमा यात्रा गर्दै आएका छन्। ट्राफिक प्रहरीले असार १४ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सुरु गरेको छ।

पहिलो चरणमा स्टिकर हटाइने र त्यसपछि कम्पनीबाटै कालो सिसा जडान भएका सवारीको व्यवस्थापनबारे आवश्यक निर्णय गरिने जनाइएको छ। यसैबीच, कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको विषयमा ट्राफिक प्रहरीले सवारी बिक्रेता कम्पनीहरूसँग छलफल गरिरहेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले केही सवारीमा कम्पनीबाटै कालो सिसा जडान भएको भेटिएकाले त्यसको समाधानका लागि सम्बन्धित कम्पनीहरूसँग परामर्श भइरहेको जानकारी दिए।