एमाले–नेकपा सहकार्यबारे चर्चा, नेताहरूबीच मतभेद सतहमा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमाले र नेकपाबीच पुनः सहकार्य वा पुनर्मिलनको सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा भइरहेका बेला पार्टीभित्रै फरक मतहरू सतहमा देखिन थालेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष भने पुनर्मिलनको पक्षमा सकारात्मक देखिएको बताइन्छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहकार्यको सम्भावनाप्रति खुला रहेको राजनीतिक संकेतहरू देखिएका छन्।
तर एमालेभित्र पुनर्गठनको माग उठाइरहेका केही नेताहरू भने तत्काल एमाले र नेकपाबीच पुनर्मिलनको पक्षमा नरहेको बुझिएको छ। यसैबीच एमाले महासचिव शंकर पोखरेलले ऐतिहासिक सन्दर्भ जोड्दै पुनरावृत्तिको राजनीतिक अर्थमाथि टिप्पणी गरेका छन्।
उनले कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै भनेका छन्, “इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा घटित हुन्छन्।” पोखरेलका अनुसार समय र परिस्थिति परिवर्तन भइसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई जस्ताको त्यस्तै दोहोर्याउनु उचित नहुने भएकाले राजनीतिक सहकार्य वा पुनर्संरचनाबारे गम्भीर र नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता छ।
एमाले र नेकपाबीचको सम्भावित सहकार्यबारे नेतृत्व तहमा सकारात्मक संकेत देखिए पनि पार्टीभित्रै रणनीति, नेतृत्व र पुनर्गठनको विषयलाई लिएर मतभेद कायमै देखिएको छ ।







