सेयर कारोबारमा प्रस्तावित १% शुल्क हटाउने प्रक्रिया सुरु, उद्योग मन्त्रालयले मस्यौदा परिमार्जन गर्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सेयर कारोबारमा प्रस्तावित १% शुल्क हटाउने प्रक्रिया सुरु, उद्योग मन्त्रालयले मस्यौदा परिमार्जन गर्ने

काठमाडौ । प्रस्तावित कम्पनी ऐन २०८३ मा राखिएको सेयर कारोबारमा अतिरिक्त एक प्रतिशत शुल्क लिने व्यवस्थालाई हटाउने प्रक्रिया उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अघि बढाएको छ।

मस्यौदा ऐनको दफा ८९ अनुसार २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेयर खरिद–बिक्री गर्दा हक प्राप्त गर्ने पक्षले एक प्रतिशत हस्तान्तरण शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो। तर उक्त व्यवस्थाप्रति सरोकारवालाबाट चर्को विरोध आएपछि मन्त्रालयले त्यसलाई पुनरावलोकन गर्दै हटाउने वा परिमार्जन गर्ने तयारी गरेको हो।

मन्त्रालयका शाखा अधिकृत केशवराज शर्माका अनुसार प्रस्तावबारे व्यापक सुझाव प्राप्त भएकाले केही सुझावका आधारमा व्यवस्था हटाउने र केहीमा परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको छ। उनका अनुसार सरोकारवालाको सुझाव समेटेपछि मात्र मस्यौदा कानुन मन्त्रालयमा पठाइनेछ।

हालको कम्पनी ऐनअनुसार कम्पनी दर्ता, पूँजी वृद्धि, नाम परिवर्तन र खारेजीमा मात्र शुल्क लाग्ने व्यवस्था छ। सेयर हस्तान्तरणमा भने सामान्य अवस्थामा शुल्क नलाग्ने प्रावधान रहेको छ। तर प्रस्तावित मस्यौदामा धितोपत्र बजारमार्फत हुने कारोबारमा समेत १ प्रतिशत शुल्क लगाउने व्यवस्था गरिएको थियो।

उक्त शुल्क धितोपत्र व्यवसायीमार्फत संकलन गरी संघीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने प्रावधानसमेत उल्लेख थियो। यसअघि बजेटमार्फत पूँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्तामाझ असन्तुष्टि देखिँदै आएको छ। हाल धितोपत्र कारोबारमा विभिन्न निकायलाई अलग–अलग रूपमा शुल्क तिर्नुपर्ने व्यवस्था पनि कायम छ, जसमा धितोपत्र बोर्ड, नेप्से, ब्रोकर र डिपोजिटरी पार्टिसिपेन्ट शुल्क समावेश छन्।

प्रस्तावित १ प्रतिशत शुल्कले सेयर बजारमा थप भार पर्ने भन्दै लगानीकर्ता तथा सरोकारवालाले विरोध जनाउँदै आएका थिए।