इन्जुरी समयमा मार्टिनेली चम्किए, जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इन्जुरी समयमा मार्टिनेली चम्किए, जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा

काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले जापानलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकामा सोमबार राति भएको खेलमा अतिरिक्त समयतर्फ धकेलिएको अवस्थामा इन्जुरी समयको छैटौँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जित दिलाए। दोस्रो हाफमा मैदान छिरेका उनले टोलीका लागि नायकको भूमिका निभाए।

खेलको २९ औँ मिनेटमा काइसु सानोले शानदार गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा त्यो अग्रता जोगाउन सफल भएको जापान दोस्रो हाफमा भने दबाबमा परेको थियो।

५६ औँ मिनेटमा ग्याब्रिएल मागाल्हेसको पासमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ब्राजिलले लगातार आक्रमण गरे पनि जापानी गोलरक्षक जायन सुजुकीले केही उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए।

तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले अवसर सदुपयोग गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्‍याए। अब ब्राजिलले अर्को चरणमा आइभोरी कोस्ट वा नर्वेमध्ये एक टोलीको सामना गर्नेछ।

यो हारसँगै जापानको विश्वकप नकआउट चरणमा पहिलो जित निकाल्ने सपना फेरि अधुरै बनेको छ। साथै जापानको पछिल्लो १० खेलको अपराजित यात्रा पनि समाप्त भएको छ।

ब्राजिलका लागि यो जित ऐतिहासिक रूपमा पनि विशेष रह्यो। सन् १९५८ मा यही समयको आसपास ब्राजिलले पहिलो पटक विश्वकप उपाधि जितेको सम्झनासँग जोडिएको दिनमा टोलीले अर्को महत्वपूर्ण जित दर्ता गरेको हो।