महान्यायाधिवक्ता कँडेलको नेपाल–बेलायत आवत जावतको विवरण झिकाउन सर्वोच्चको आदेश
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नेपाल र बेलायतबीचको आवत जावतसम्बन्धी अभिलेख पेश गर्न अध्यागमन विभागका नाममा आदेश दिएको छ।
महान्यायाधिवक्ता कँडेलको नियुक्ति र योग्यतामाथि प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।
अदालतले अध्यागमन विभागलाई सन् २०१५ देखि २०२४ सम्म कँडेलले नेपाल र बेलायतबीच गरेको आवतजावतको प्रमाणित विवरण पेश गर्न निर्देशन दिएको छ। साथै, कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गर्ने सम्बन्धमा २२ चैत २०८२ मा प्रधानमन्त्रीबाट भएको निर्णयसमेत झिकाउन आदेश गरिएको छ।
अधिवक्ताहरू माधवकुमार बस्नेत, शिराज बराल र दीपकराज जोशीले छुट्टाछुट्टै रिट दायर गर्दै सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता आवश्यक पर्ने महान्यायाधिवक्ताको पदका लागि कँडेल आवश्यक योग्यता नपुग्ने दाबी गरेका छन्।
रिटमाथिको थप सुनुवाइका लागि सर्वोच्च अदालतले सम्बन्धित कागजात र अभिलेख मगाउने आदेश जारी गरेको हो। त्यसपछि अदालतले नियुक्तिको वैधानिकता र योग्यतासम्बन्धी विवादमा थप सुनुवाइ अघि बढाउनेछ।







