जर्मन कम्पनीबाटै पासपोर्ट छपाइ हुने, अन्योल अन्त्य
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । केही दिनदेखिको अन्योलपछि नेपाली ई–पासपोर्ट (राहदानी) छपाइको काम जर्मनीका दुई कम्पनी म्यूलबैर र भेरिडोजले नै अघि बढाउने भएका छन्। परराष्ट्र मन्त्रालयले हालको पासपोर्ट मौज्दात सकिएलगत्तै नयाँ ठेक्का कार्यान्वयनमा जाने तयारी गरेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हाल करिब ५० हजार राहदानी पुस्तिका मौज्दात रहेकाले ती सकिएपछि नयाँ ठेक्का पाएका कम्पनीहरूले नियमित रूपमा पासपोर्ट छपाइ सुरु गर्नेछन्। विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दाले सेवा प्रवाहमा असर नपर्ने गरी प्रक्रिया अघि बढाउने समझदारी भएको पनि मन्त्रालयले जनाएको छ।
राहदानी विभागका अनुसार भेरिडोजले आवश्यक प्रणाली स्थापना गरी करिब पाँच लाख राहदानी पुस्तिका छापिसकेको छ। कम्पनीले सम्झौताअनुसार त्यसबापतको भुक्तानी पाउने प्रक्रिया अघि बढेको छ। यस्तै, म्यूलबैरले उपकरण जडान, प्रणाली व्यवस्थापन तथा मर्मतसम्भारको काम सम्पन्न गरिसकेको विभागले जनाएको छ।
पासपोर्ट खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि केही समय राहदानी छपाइको विषय अन्योलमा परेको थियो। तर सरकारले सेवा प्रभावित नहुने गरी ठेक्का कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको हो।
यसअघि राहदानी छपाइमा संलग्न फ्रान्सेली कम्पनी आइडिमियाले नयाँ ठेक्का प्रक्रियाविरुद्ध विभिन्न निकायमा उजुरी दिएको थियो। तर प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट जर्मनीका म्यूलबैर र भेरिडोज छनोट भएका हुन्। सरकारका अनुसार नयाँ सम्झौताअनुसार राहदानी उत्पादन लागत पनि अघिल्लो व्यवस्थाको तुलनामा कम हुने अपेक्षा गरिएको छ भने सेवाग्राहीलाई नियमित रूपमा राहदानी उपलब्ध गराउने लक्ष्य राखिएको छ।







