रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रसँगै पार्टीको चुनाव चिह्न ‘घण्टी’ उपहारस्वरूप प्रदान गरेको छ।
बुधबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गर्दै घण्टी उपहार दिएका हुन्। रास्वपाको १५८ सदस्यीय केन्द्रीय समितिमध्ये निर्वाचनमार्फत ९९ जना चयन भएका छन्।
सात जना प्रदेश सभापति पदेन सदस्य रहने व्यवस्था छ भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्नेछन्। पार्टी स्रोतका अनुसार मनोनीत हुने केन्द्रीय सदस्यमध्ये केही काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह ‘बालेन’ निकट व्यक्तिहरू पनि रहने चर्चा छ। यद्यपि यसबारे पार्टीले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन।
रास्वपाले पार्टी स्थापना भएको चार वर्षपछि असार ७ देखि १३ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो।







