कांग्रेसभित्र क्रियाशील सदस्यता विवादबीच किशोरसिंह राठोरको अभिव्यक्तिले तरंग

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेसभित्र क्रियाशील सदस्यता विवादबीच किशोरसिंह राठोरको अभिव्यक्तिले तरंग

काठमाडौ । क्रियाशील सदस्यता अद्यावधिक नगर्ने अडानसहित प्रदेश भेला गरिरहेको नेपाली कांग्रेसभित्र आन्तरिक बहस चर्किरहेका बेला नेता किशोरसिंह राठोरको अभिव्यक्तिले पार्टीभित्र नयाँ तरंग सिर्जना गरेको छ।

दाङको लमहीमा मंगलबार देउवा–कोइराला पक्षले संयुक्त रूपमा आयोजना गरेको प्रदेश भेलामा प्रमुख अतिथि रहेका पूर्वसहमहामन्त्री राठोरले आफू क्रियाशील सदस्यता अद्यावधिक गर्ने र अरूलाई पनि त्यसै गर्न आग्रह गर्ने बताएपछि संस्थापनइतर पक्षभित्र असन्तुष्टि र अचम्म दुवै देखिएको हो।

कार्यक्रमका क्रममा उनले पार्टीभित्र एकता र प्रतिस्पर्धा दुवै स्वाभाविक हुने भन्दै नेताहरूले संगठनभित्रै रहेर संघर्ष गर्नुपर्ने धारणा राखे। उनले आफूले पार्टी नछाड्ने र आवश्यक परे अन्तिमसम्म पनि कांग्रेसमै रहने स्पष्ट गरे।

राठोरले नेताहरूलाई लक्ष्य गर्दै पार्टीभित्र गुनासो भए पनि संगठन छाड्ने विकल्प उपयुक्त नहुने बताए। उनले विगत सम्झिँदै कांग्रेसभित्रको गुट राजनीति, नेतृत्व संघर्ष र आफूहरूको योगदानबारे पनि टिप्पणी गरेका थिए।

उनले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा पनि आफू सहभागी हुने बताएका थिए, जसले भेलामा सहभागी केही नेताहरूलाई अचम्मित बनाएको थियो। केही कार्यकर्ताले उनको अभिव्यक्तिको बीचमै प्रतिक्रिया दिएका थिए भने नेताहरूबीच आपसी बहससमेत भएको बताइएको छ।

राठोरले पार्टीभित्र मतभेद भए पनि त्यसको समाधान पार्टीभित्रै खोजिनुपर्नेमा जोड दिँदै नयाँ दल खोल्ने पक्षमा आफू नरहेको स्पष्ट पारे। उनले अन्ततः राजनीति गर्न नसके विकल्पका रूपमा ‘आलु खेती’ गर्ने व्यङ्ग्यात्मक टिप्पणीसमेत गरेका थिए।

कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई लिएर संस्थापन र संस्थापनइतर पक्षबीच जारी मतभेदकै बीच राठोरको अभिव्यक्तिले थप बहस सिर्जना गरेको छ।