राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले संघीय सरकारका मन्त्रीहरूलाई सांसदहरूले उठाएका विषयमा समयमै जवाफ दिन निर्देशन दिएका हुन्। अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा सांसदहरूले उठाएका विषयहरूमा सरकारको तर्फबाट जवाफ अनिवार्य रूपमा दिनुपर्ने उल्लेख गर्दै सरकारलाई त्यसअनुसार कार्य गर्न निर्देश गरेका थिए।
बैठकमा उनले भने, ‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु।’
यसअघि सोही बैठकमा सांसदहरूले शून्य समयमा उठाइएका जनतासँग सम्बन्धित प्रश्नहरूको सरकारबाट जवाफ नआएको भन्दै नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले आपत्ति जनाएका थिए। सांसदहरूको गुनासोपछि अध्यक्ष दाहालले सरकारलाई समयमै जवाफदेही हुन स्पष्ट निर्देशन दिएका हुन्।







