वेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अतिरिक्त समयको अन्तिम मिनेटमा टिलेमान्सको पेनाल्टी, बेल्जियमले अविश्वसनीय पुनरागमन गर्दै अन्तिम १६ मा स्थान बनायो
दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको सियाटलमा बुधबार राति भएको रोमाञ्चक नकआउट खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्यो।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै बेल्जियमलाई जित दिलाए।
खेलको सुरुआत भने सेनेगलका पक्षमा गएको थियो। २५औँ मिनेटमा हबिब डिएराले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ५१औँ मिनेटमा इस्माइला सारले गोल थपेपछि सेनेगल २–० को बलियो अवस्थामा पुगेको थियो।
खेलको ८५औँ मिनेटसम्म पनि बेल्जियम हारको नजिक देखिएको थियो। तर दोस्रो हाफमा मैदान प्रवेश गरेका अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले खेलको दिशा नै बदलिदिए।
८६औँ मिनेटमा थोमस मुनिएरको क्रसमा लुकाकुले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए। त्यसको केही समयपछि कप्तान युरी टिलेमान्सले हेडमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
अतिरिक्त समयमा दुवै टोलीले अवसर सिर्जना गरे पनि अन्तिम क्षणमा प्राप्त पेनाल्टीलाई टिलेमान्सले गोलमा परिणत गर्दै बेल्जियमलाई अन्तिम १६ को यात्रा तय गराए। खेलका क्रममा दोस्रो हाफमा टिलेमान्स र ट्रोसार्डबीच सामान्य भनाभन भएको थियो, जसलाई लुकाकुले हस्तक्षेप गरेर शान्त बनाएका थिए।
यो जितसँगै बेल्जियमले विश्वकपमा आफ्नो यात्रा कायम राखेको छ भने सेनेगलको अभियान समाप्त भएको छ ।







