सरकारको नियुक्ति प्रक्रियामाथि शंकर पोखरेलको व्यङ्ग्य

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारको नियुक्ति प्रक्रियामाथि शंकर पोखरेलको व्यङ्ग्य

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र निर्णयप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्री तथा वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीलाई ‘गजबको तरिका’ भन्दै आलोचना गरेका हुन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा सहरी योजनाविद् किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि पोखरेलको प्रतिक्रिया आएको हो।

पोखरेलले विगतमा स्थानीय तह निर्वाचनमा बालेन शाहसँग प्रतिस्पर्धा गरेका व्यक्तिलाई अध्यादेशमार्फत रिक्त गरिएको राजनीतिक प्रकृतिको पदमा ल्याइनुले सरकारको दोहोरो चरित्र देखिएको दाबी गरेका छन्।

उनले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्ने तर आफ्ना निकट व्यक्तिलाई नियुक्त गर्ने काम भएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन्।

साथै, विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने नीति र नियुक्तिमा राजनीतिक प्रभाव देखिएको आरोप लगाउँदै उनले राजनीतिकरण अन्त्य गर्ने नाममा गरिएको नियुक्तिलाई ‘जान्नेलाई छान्ने’ नाराको फरक रूप भएको टिप्पणी गरेका छन्।