दैलेखमा फोर्स गाडी कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा फोर्स गाडी कर्णाली नदीमा खसेको छ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११ः३० बजे सडकबाट करिब ४०० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ।
अन्य यात्रुको अवस्था खुल्न नसकेको तथा गाडीमा कति जना सवार थिए भन्ने विवरण पनि यकिन भइसकेको छैन। दुर्घटनापछि उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी उद्धार तथा खोजी कार्यमा खटिएको हो।
घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







