माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनलाई प्रहरीले रोक्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनलाई प्रहरीले रोक्यो

काठमाडौ । काठमाडौंको माइतीघर मण्डलाबाट सिंहदरबार घेराउ गर्न निस्किएका दृष्टिविहीनलाई प्रहरीले बीच बाटोमै रोकेको छ।

लामो समयदेखि माइतीघरमा धर्ना दिँदै आएका उनीहरू बिहीबार सिंहदरबार घेराउ गर्ने योजनामा थिए। प्रहरीले उनीहरूलाई बीच बाटोमै रोकेर फर्काइदिएको आन्दोलनरत पक्षले जनाएको छ। दृष्टिविहीनहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै दबाब स्वरूप सिंहदरबार घेराउ गर्ने रणनीति बनाएका थिए।

सडकपेटीमा स्वरोजगारमूलक काम गर्दै आएका उनीहरूले सरकारले व्यवसाय गर्न नदिएको आरोप लगाउँदै ११ दिनदेखि धर्ना जारी राखेका छन्। आन्दोलनरत दृष्टिविहीनहरूले आफ्नो सम्मानजनक व्यवस्थापन, योग्यता र क्षमताका आधारमा रोजगारीको अवसर, हाल गरिरहेको स्वरोजगार तथा सडकसंगीतजस्ता पेसा निर्बाध रूपमा सञ्चालन गर्न पाउने व्यवस्था र सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुपर्ने माग अघि सारेका छन्।

आन्दोलनकारी साधन सुब्बाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए। उनले यसअघि बुधबार नेकपा (एमाले) केन्द्रीय कार्यालय अगाडि पनि धर्ना दिइएको जानकारी दिँदै सो क्रममा पार्टीले ऐक्यबद्धता जनाए पनि धर्ना सहज रूपमा गर्न नदिएको गुनासो गरे।