अब बिनाकारण पेट्रोल पम्प बन्द गरे १० लाखसम्म जरिबाना
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अब बिनाकारण पेट्रोलपम्प बन्द गरेर इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना गरिने भएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो। संशोधित व्यवस्थाअनुसार पेट्रोलपम्पले नोजल सुख्खा बनाएर इन्धन नपाउने अवस्था सिर्जना गर्न नपाउने स्पष्ट उल्लेख गरिएको छ।
नयाँ व्यवस्थाअनुसार पहिलो पटक कसुर गरे तीन लाख रुपैयाँ जरिबाना गरिनेछ र पाँच दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक उल्लङ्घन गरे छ लाख रुपैयाँ जरिबानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक कसुर दोहोरिए १० लाख रुपैयाँ जरिबाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ।
पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमको डिपोबाट इन्धन नउठाएपछि बुधबार देशभर इन्धन आपूर्ति प्रभावित भएको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले यस्तो कार्य गर्नेलाई कानुनी कारबाही गर्न सकिने व्यवस्था तत्काल गर्न निर्देशन दिएकी थिइन्।
मन्त्रीको निर्देशनपछि नेपाल आयल निगमको सञ्चालक समितिले बुधबार साँझ बसेको बैठकबाट विनियमावली संशोधन गर्दै नयाँ दण्ड व्यवस्थालाई स्वीकृति दिएको हो।
नयाँ व्यवस्थासँगै अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन आपूर्तिमा अवरोध गर्ने व्यवसायीमाथि कडा कारबाही हुने नेपाल आयल निगमले जनाएको छ।







