बालेन नेतृत्वको सरकारले शनिबार सार्वजनिक गर्दैछ सय दिने कार्यप्रगति

User Image Prime TV News २ हप्ता अगाडि
Image of बालेन नेतृत्वको सरकारले शनिबार सार्वजनिक गर्दैछ सय दिने कार्यप्रगति

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा शनिबार कार्यप्रगति तथा उपलब्धिहरू सार्वजनिक गर्ने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार गठन भएको सय दिन पूरा हुने असार २० गते सरकारका प्रमुख निर्णय, सुधारका प्रयास र कार्यसम्पादनको विवरण सार्वजनिक गर्ने तयारी गरिएको हो। कार्यक्रमको मिति तय भइसके पनि समय भने अन्तिम टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।

जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनपश्चात चैत १३ गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन, पारदर्शिता र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै सरकारले सय दिनभित्र गर्ने कार्यहरूको प्रारम्भिक कार्ययोजना पनि सार्वजनिक गरेको थियो।

सरकारले सय दिनका उपलब्धिमा उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, १,५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन तथा विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेजी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी समस्या समाधानका पहल, कर्मचारीको सवारी सुविधा व्यवस्थापन तथा सरकारी एवं सार्वजनिक जग्गा संरक्षणका प्रयासलाई समेट्ने तयारी गरेको छ।

त्यसैगरी मन्त्रालयको संख्या घटाउने, अनावश्यक दरबन्दी कटौती गर्ने, सेवाप्रवाहलाई सरल बनाउने, कानुन संशोधनको प्रक्रिया अघि बढाउने, भ्रष्टाचार तथा वित्तीय अपराधमा छानबिन तीव्र बनाउने र कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणाली लागू गर्ने विषयलाई पनि कार्यप्रगतिमा समावेश गरिने जनाइएको छ।

यद्यपि सरकारको सय दिने अवधिमा केही निर्णय विवादित पनि बनेका छन्। वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउने प्रयास, उद्योगी–व्यवसायीमाथि तथ्य र प्रमाणबिनै दबाब सिर्जना गरेको आरोप, विपक्षी दलका नेता तथा कार्यकर्तामाथि प्रतिशोधपूर्ण कारबाही, शिक्षा क्षेत्रमा कर वृद्धि, महँगी नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न नसकेको तथा श्रमजीवी वर्गका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ।