इरानी शीर्ष वार्ताकारलाई निशाना बनाउन सक्ने आशंकाले अमेरिका सक्रिय

User Image Prime TV News २ हप्ता अगाडि
Image of इरानी शीर्ष वार्ताकारलाई निशाना बनाउन सक्ने आशंकाले अमेरिका सक्रिय

काठमाडौ । अमेरिका र इरानबीच अप्रिलमा सुरु भएको कूटनीतिक वार्ताका क्रममा इजरायलले इरानका उच्च तहका वार्ताकारलाई निशाना बनाउन सक्ने आशंकापछि अमेरिकाले मध्यपूर्वका केही साझेदार मुलुकमार्फत तेहरानलाई सतर्क रहन सन्देश पठाएको दाबी गरिएको छ।

अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्स र वासिङ्टन पोस्ट का अनुसार, इरानका विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफमाथि सम्भावित आक्रमणले वार्ता प्रक्रिया तथा सम्भावित युद्धविराम प्रभावित हुन सक्ने भन्दै ट्रम्प प्रशासन चिन्तित बनेको थियो।

रिपोर्टअनुसार त्यसबेला अमेरिका होर्मुज जलसन्धिमा जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने तथा इरानको आणविक कार्यक्रमबारे कूटनीतिक सहमति खोज्ने प्रयासमा थियो। अमेरिकी अधिकारीहरूले इजरायलको सम्भावित कदमले वार्ता विफल हुन सक्ने निष्कर्ष निकालेपछि अप्रत्यक्ष रूपमा इरानलाई सुरक्षा सतर्कता अपनाउन सन्देश पठाएको जनाइएको छ।

त्यसैक्रममा पाकिस्तानमा हुने एक बैठकमा सहभागी हुन जाँदा इरानी प्रतिनिधिमण्डलको सुरक्षामा विशेष व्यवस्था गरिएको पनि रिपोर्टमा उल्लेख छ। सम्भावित सुरक्षा जोखिमका कारण प्रतिनिधिमण्डल बोकेको विमानलाई लडाकु विमानको सुरक्षा प्रदान गरिएको तथा फर्किने क्रममा सुरक्षा चेतावनीपछि वैकल्पिक मार्ग अपनाइएको बताइएको छ।

वासिङ्टन पोस्ट ले उद्धृत गरेका एक अमेरिकी अधिकारीका अनुसार, इरानका प्रमुख वार्ताकारमाथि आक्रमण भए कूटनीतिक प्रयासमा गम्भीर असर पर्ने र शान्ति प्रक्रियामा बाधा पुग्ने अमेरिकी बुझाइ थियो। यद्यपि यस विषयमा अमेरिका र इजरायलले औपचारिक रूपमा विस्तृत प्रतिक्रिया दिएका छैनन्। ह्वाइट हाउसका एक अधिकारीले भने राष्ट्रपति शान्तिपूर्ण समाधान र कूटनीतिक प्रयासलाई निरन्तरता दिन प्रतिबद्ध रहेको बताएका छन्।