नेप्से ८.३० अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ४१ करोड

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेप्से ८.३० अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ४१ करोड

काठमाडौ । अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार भने ८.३० अंकले घटेको छ।

यससँगै नेप्से परिसूचक २,६५३ अंकमा झरेको छ। दिनभर बजार सामान्य उतारचढावमा रहे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

उपसमूहतर्फ फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। समग्र बजार ०.३१ प्रतिशतले घट्दा पनि फाइनान्स समूह १.०६ प्रतिशतले बढेको छ। जलविद्युत् ०.१६ प्रतिशत, माइक्रोफाइनान्स ०.१५ प्रतिशत, व्यापार ०.५२ प्रतिशत र विकास बैंक समूह सामान्य ०.२९ अंकले सकारात्मक रहे।

यता बैंकिङ समूह ०.९६ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन ०.३८ प्रतिशत, लगानी ०.६२ प्रतिशत, जीवन बीमा ०.७१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४४ प्रतिशत, निर्जीवन बीमा ०.०२ प्रतिशत तथा अन्य समूह ०.१३ प्रतिशतले ओरालो लागेका छन्।

कारोबारका क्रममा सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स हाइड्रोपावर र नेपाल फाइनान्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै खानीखोला हाइड्रोपावर ११.६३ प्रतिशत, उपकार लघुवित्त १०.७९ प्रतिशत तथा माइखोला हाइड्रोपावर ५.३७ प्रतिशतले उकालो लागेको छ।

अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १३.६५ प्रतिशतले घटेको छ। धौलागिरि लघुवित्त ११.२१ प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ४.९७ प्रतिशतले घटेका छन्। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी र ग्लोबल आईएमई बैंक सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेका छन्।