‘गौँथली’को ट्रेलर सार्वजनिक, शिक्षा र वैवाहिक संघर्षको भावनात्मक कथा

User Image Prime TV News २ हप्ता अगाडि
Image of ‘गौँथली’को ट्रेलर सार्वजनिक, शिक्षा र वैवाहिक संघर्षको भावनात्मक कथा

काठमाडौ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘गौँथली’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले शिक्षा प्राप्तिका लागि एक युवतीले गरेको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई केन्द्रमा राखेर ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा मुख्य पात्र सिम्रन खड्काले शिक्षाको सपना पूरा गर्न गरेको संघर्ष र त्यसमा आफ्नै परिवार बाधक बनेको अवस्था चित्रण गरिएको छ। महिलाले महिलालाई नै साथ नदिँदा पर्ने असर, पुरातन सोच र सामाजिक परम्पराले सिर्जना गर्ने अवरोधलाई पनि ट्रेलरमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा अटिजमबाट प्रभावित युवकसँग विवाह गरेकी एक युवतीले भोग्नुपरेका कठिनाइ, शिक्षाप्रतिको उनको अठोट तथा परम्परागत मान्यता र सामाजिक सोचका कारण सपना र पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई भावनात्मक शैलीमा देखाइएको छ।

चलचित्रको निर्देशन डा. कपिल रिजालले गरेका छन्। चलचित्रमा अरुण, सिम्रन खड्कासहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

चलचित्रको कथा डा. भोला रिजालले लेखेका हुन् भने पटकथा तथा संवादमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ। सम्पादन हरि हुमागाईं र मिलन श्रेष्ठले गरेका छन्। सामाजिक यथार्थ, महिला शिक्षा र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गौँथली’ साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।