आज पनि देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले विभिन्न स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ।
हाल बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ।
राति देशका हिमाली क्षेत्रका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, मधेस र बागमती प्रदेशका पहाडी क्षेत्रका केही तथा तराईका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला आसपासका बासिन्दा तथा यात्रुले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।







