शंकर पोखरेलको आरोप– सरकार सय दिनमै असफल, एमालेबाट मतदाता टाढिएको स्वीकार

User Image Prime TV News २ हप्ता अगाडि
Image of शंकर पोखरेलको आरोप– सरकार सय दिनमै असफल, एमालेबाट मतदाता टाढिएको स्वीकार

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो पहिलो सय दिनमै पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्।

साथै उनले पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टीबाट नयाँ पुस्तासहित परम्परागत मतदाता पनि टाढिएको स्वीकार गरेका छन्।

शनिबार ललितपुरमा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले लोकप्रियतावाद (पपुलिजम) को आडमा सरकार स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाए।

उनले २०८२ सालको आम निर्वाचनपछि बनेको सरकारले सार्वजनिक गरेको सय बुँदे प्रतिबद्धता पूरा गर्न नसकेको दाबी गर्दै सरकार आफ्नै वाचाअनुसार काम गर्न असफल भएको बताए।

“सरकारका काम, कारबाही र सार्वजनिक गरिएको सय बुँदे प्रतिबद्धताको आधारमा मूल्याङ्कन गर्ने हो भने सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न पूर्ण रूपमा असफल भएको छ,” उनले भने। उनका अनुसार मुलुक विधिको शासनबाट विचलित भएको छ र संविधान तथा लोकतन्त्रको भविष्यसमेत जोखिममा परेको छ।

महासचिव पोखरेलले एमालेबाट मतदाता टाढिनुमा पार्टीभित्रको आन्तरिक कलह, तत्कालीन नेकपाको विघटन र एमाले विभाजन प्रमुख कारण रहेको बताए। ती घटनाले जनतामा निराशा बढाएको र त्यसैको आधारमा लोकप्रियतावाद मौलाएको उनको भनाइ थियो।

उनले नयाँ पुस्तासँगै सामाजिक सुरक्षा योजनाका लाभग्राही, सुकुम्बासी, मजदुर तथा लामो समयदेखि एमालेलाई समर्थन गर्दै आएका प्रवासी नेपालीसमेत पार्टीबाट टाढिएको स्वीकार गरे। भदौ २३ र २४ गतेका घटनापछि महिलाहरूमा पनि पार्टीप्रति नकारात्मक धारणा बनेको उनको भनाइ थियो।

पोखरेलले गुमेको जनविश्वास पुनः स्थापित गर्न, लोकप्रियतावादको प्रभावलाई चुनौती दिन र संविधानको संरक्षणका लागि एमालेले देशव्यापी ‘मिसन पार्टी जागरण’ अभियान सुरु गरेको बताए।