राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने व्यवस्था कानुनमै समेटिँदै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत राख्ने व्यवस्थालाई कानुनी आधार दिने तयारी गरेको छ।
यसअघि नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३मार्फत गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको थियो। अब उक्त व्यवस्थालाई कानुनी मान्यता दिन सरकारले नेपाल विशेष सेवा ऐन, २०४२मा संशोधन गर्ने तयारी गरेको छ।
राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच सार्ने अभ्यास विगतमा पनि पटक–पटक हुँदै आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ मार्फत विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको थियो। त्यसअघि भने विभाग गृह मन्त्रालय मातहत सञ्चालन हुँदै आएको थियो।
त्यसपछि विभाग पुनः गृह मन्त्रालयअन्तर्गत फर्काइएको थियो। पछिल्लो पटक वर्तमान सरकारले कार्य विभाजन नियमावली, २०८३ मार्फत विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएको थियो। अब सोही व्यवस्थालाई स्थायी कानुनी आधार दिन सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनसम्बन्धी विधेयक अघि बढाएको छ।







