नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त

काठमाडौ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको छ।

नार्कका अध्यक्षसमेत रहेकी कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको अध्यक्षतामा भएको निर्णयअनुसार कृषि अनुसन्धान निर्देशनालय, तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत (छैटौँ) पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराईलाई सेवाबाट हटाइएको हो।

परिषद्का अनुसार कर्मचारी प्रशासन विनियमावली, २०६२ बमोजिम उनीहरूलाई कार्यालयमा अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको छ। यसअघि परिषद्ले सम्बन्धित कर्मचारीहरूको स्थायी ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिक पत्रिकामार्फत सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो।

तर, तोकिएको समयभित्र पनि सम्पर्कमा नआएपछि कार्यकारी समितिको निर्णयका आधारमा सेवाबाट हटाउने निर्णय गरिएको परिषद्ले जनाएको छ। मन्त्री चौधरीले सरकारले सुशासन, अनुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिएको उल्लेख गर्दै जिम्मेवारी पूरा नगरी लामो समयसम्म अनुपस्थित रहने कर्मचारीमाथि आवश्यक प्रशासनिक कारबाही गरिएको बताइन्।