संविधान संशोधनमा अनावश्यक छेडखानी स्वीकार्य हुँदैन : आङदेम्बे
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनका नाममा आधारभूत लोकतान्त्रिक मूल्य, संविधानको मर्म तथा सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै आङदेम्बेले लामो संघर्षपछि प्राप्त संविधानमाथि हचुवाका भरमा परिवर्तन वा हस्तक्षेप गर्नु उचित नहुने बताए। उनले संविधान संशोधनजस्तो गम्भीर विषयमा अहिलेसम्म पर्याप्त र गहिरो संवाद हुन नसकेको उल्लेख गर्दै राज्य संरचना र सङ्घीयताको मूल स्वरूपमाथि गरिने कुनै पनि हस्तक्षेपप्रति सचेत रहनुपर्ने धारणा राखे।
‘संविधान संशोधनजस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन सकेको छैन। संघीयता, राज्य संरचना र हाम्रो प्रतिनिधित्वको विषयमा गरिएको परिकल्पनामाथि छेडखानी भइरहेको छ,’ उनले भने।
आङदेम्बेले हिमाल, पहाड, तराई–मधेश लगायत विभिन्न क्षेत्रबीचको संवेदनशील सन्तुलनलाई नजरअन्दाज गर्न नहुने बताए। उनले सरकारले संविधान संशोधनका लागि गठन गरेका कार्यदललाई पनि अपरिपक्व भएको टिप्पणी गर्दै यस्ता प्रक्रियामा व्यापक सहमति र परिपक्व छलफल आवश्यक रहेको जोड दिए।







