रास्वपाको संशोधित विधानमा सभापतिलाई संसदीय दलको नेता हटाउने अधिकार
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संशोधित विधानमार्फत पार्टी सभापतिलाई संसदीय दलमाथिको अधिकार थप विस्तार गरेको छ।
नयाँ व्यवस्थाअनुसार सभापतिले दिएको नीतिगत निर्देशन अवज्ञा गरे संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने प्रावधान समावेश गरिएको छ। संशोधित विधानमा पार्टी सभापतिको काम, कर्तव्य र अधिकारअन्तर्गत ‘संसदीय दलसँग समन्वय’लाई वैचारिक तथा राजनीतिक नेतृत्वको जिम्मेवारीका रूपमा उल्लेख गरिएको छ।
सभापति संसदीय दलको नेता नरहेको अवस्थामा संसदमा पार्टीको नीति, सिद्धान्त, निर्णय र दृष्टिकोण प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक मार्गनिर्देशन दिने अधिकार सभापतिलाई रहने व्यवस्था गरिएको छ। विधानअनुसार सभापतिले दिएको नीतिगत मार्गनिर्देशनको पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सांसदहरूको अनिवार्य कर्तव्य हुनेछ।
यही व्यवस्थाको आधारमा विधानको दफा ६८ (१–ङ) मा सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरे संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने प्रावधान राखिएको छ। उक्त व्यवस्था दफा ११(क) को उपदफा ३ सँग सम्बन्धित रहेको उल्लेख गरिएको छ।
रास्वपाले पार्टी अनुशासन, नीतिगत एकरूपता र संसदीय गतिविधिलाई पार्टीको निर्णयअनुसार सञ्चालन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ। नयाँ प्रावधानअनुसार सभापतिले दिएको नीतिगत निर्देशनको पालना नगरे संसदीय दलका नेता तथा सांसदहरूलाई कारबाहीको दायरामा ल्याउन सकिने व्यवस्था गरिएको छ।







