इन्जुरी समयमा मेरिनोको गोल, स्पेन क्वार्टरफाइनलमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । स्पेन राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सोमबार राति डलास स्टेडियममा भएको अन्तिम १६ को रोमाञ्चक खेलमा स्पेनले पोर्चुगल राष्ट्रिय फुटबल टोलीलाई १–० ले पराजित गर्यो।
स्पेनको जितमा वैकल्पिक खेलाडी मिकेल मेरिनो नायक बने। उनले इन्जुरी समयको पहिलो मिनेट (९०+१) मा निर्णायक गोल गर्दै टोलीलाई अन्तिम आठमा पुर्याए।
खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका फेरान टोरेसको पासलाई मेरिनोले उत्कृष्ट रूपमा सदुपयोग गर्दै विजयी गोल गरेका थिए।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। पोर्चुगलका नुनो मेन्डिसको प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने स्पेनका मिकेल ओयारजाबालले पनि उत्कृष्ट अवसर गुमाएका थिए।
यो हारसँगै क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको छ। ४१ वर्षीय रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए।
यस जितसँगै स्पेनले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि बनाएको छ। मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा स्पेनले जारी विश्वकपका लगातार छ खेलमा कुनै गोल बेहोरेको छैन, जुन विश्वकप इतिहासकै सबैभन्दा लामो 'क्लिन सिट' शृङ्खला हो।
स्पेनका गोलरक्षक उनाई सिमोनले ६०९ मिनेटसम्म गोल नखाई वाल्टर जेङ्गा र इकर कासिलासको कीर्तिमानलाई पछि पारेका छन्।







