बजारमा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सक्रिय : मन्त्री गौरी कुमारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका लागि सरकारले प्रभावकारी कदम चालिरहेको बताएकी छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले बजारको नियमित अनुगमन, मूल्य विश्लेषण तथा कानुनी कारबाहीमार्फत मूल्य नियन्त्रणको प्रयास भइरहेको जानकारी दिइन्।
यसअघि सांसद मदन कुमारी साहले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मूल्य विश्लेषण प्रतिवेदन २०८२/८३ का आधारमा खाद्यान्न र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले इन्धनको मूल्यवृद्धिका कारण ढुवानी तथा हवाई भाडा बढ्दा सर्वसाधारण, विशेषगरी न्यून आय भएका नागरिक थप मारमा परेको उल्लेख गर्दै सरकारसँग स्पष्ट जवाफ माग गरेकी थिइन्।
जवाफमा मन्त्री कुमारीले नेपाल राष्ट्र बैंक, नेपाल आयल निगम, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति लगायतका निकायबाट तथ्याङ्क सङ्कलन गरी मासिक रूपमा बजार मूल्यको विश्लेषण गर्ने गरिएको बताइन्।
उनले २०८२/८३ को वैशाख महिनाको प्रतिवेदनले स्थानीय उत्पादनका तरकारीको मूल्यमा केही उतारचढाव देखिएको स्वीकार गर्दै त्यसको मुख्य कारण पेट्रोलियम पदार्थको मूल्य, उत्पादनको अवस्था तथा बजारमा बिचौलियाको प्रभाव रहेको उल्लेख गरिन्।
मन्त्री कुमारीका अनुसार हालै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती भइसकेको छ र त्यसअनुसार यातायात तथा हवाई भाडा पनि समायोजन गरिएको छ। उनले भनिन्, “नेपाल आयल निगमले स्वचालित प्रणालीमार्फत इन्धनको मूल्य समायोजन गर्दै आएको छ। पछिल्लो समय मध्यपूर्वको असहज परिस्थितिका बाबजुद पनि आपूर्ति व्यवस्थालाई सहज बनाइएको छ।”
मन्त्री कुमारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत दैनिक रूपमा बजार अनुगमन भइरहेको र कैफियत भेटिएका आयातकर्ता, उत्पादक तथा विक्रेतामाथि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तत्काल जरिवाना गर्ने गरिएको जानकारी दिइन्।
उनले विभागलाई अझ सक्रिय बनाइएको र अनुगमन टोलीहरूले दैनिक रूपमा विभिन्न क्षेत्रमा निरीक्षण गरी बजारमा मूल्य नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागि काम गरिरहेको पनि स्पष्ट पारिन्।







