तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेनमा विस्तार गरिने : मन्त्री सुनिल लम्साल

User Image Prime TV News २ हप्ता अगाडि
Image of तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेनमा विस्तार गरिने : मन्त्री सुनिल लम्साल

काठमाडौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) मा विस्तार गरिने बताएका छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले कर्णालीका सडक तथा पुल निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनका अनुसार हाल रहेका एक लेनका सडकलाई चरणबद्ध रूपमा दुई लेनमा विस्तार गरिनेछ। यसै आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी निर्माण प्रक्रिया सुरु गरिने उनले जानकारी दिए।

मन्त्री लम्सालले निर्माणाधीन सडक खण्डमा करिब नौ वटा पुल ‘डिजाइन एन्ड बिल्ड’ विधिबाट निर्माणको प्रक्रियामा रहेको बताए। स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुल निर्माण गरिने पनि उनले उल्लेख गरे। सडक तथा पुलको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधानका लागि आफू साउन ३ गते स्थलगत निरीक्षणमा जाने मन्त्री लम्सालले जानकारी दिए।

उनले कर्णालीका पहिरो प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको बताउँदै आगामी तीन वर्षभित्र पहिरोको समस्या न्यूनीकरण गर्ने लक्ष्यसहित काम भइरहेको बताए।

मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका स्थानीय तहसम्म सुरक्षित सडक पहुँच विस्तार गर्न पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष ठेक्का प्रक्रिया अघि बढाइने उनले जानकारी दिए। सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना कार्यान्वयन गरिरहेको बताए।

उनले उत्तरी सीमा अर्थात् चीनसँग जोडिने सीमाक्षेत्रसम्म सडक सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको जानकारी दिए। पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको उक्त सडकलाई सीमासम्म विस्तार गर्ने गरी काम अगाडि बढाइने उनले बताए।