एडीबीले सन् २०२९ सम्म नेपाललाई २.४ अर्ब अमेरिकी डलर सहयोग गर्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले नेपाललाई सन् २०२९ सम्म २ अर्ब ४० करोड अमेरिकी डलर (२.४ बिलियन डलर) बराबरको सहयोग उपलब्ध गराइने घोषणा गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग मंगलबार भएको भेटपछि सामाजिक सञ्जाल एक्समार्फत अध्यक्ष कान्डाले उक्त प्रतिबद्धता सार्वजनिक गरेका हुन्। यो रकम नेपाली मुद्रामा करिब ३ खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढी बराबर हुन्छ।
कान्डाले प्रधानमन्त्री शाहले अघि सारेका आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनका सुधार कार्यक्रमलाई सहयोग गर्न एडीबी प्रतिबद्ध रहेको बताएका छन्। उनले लेखेका छन्, “एडीबीले सन् २०२९ सम्म थप २.४ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउँदै नेपालको सबैभन्दा ठूलो विकास साझेदारका रूपमा आफ्नो भूमिका अझ सुदृढ बनाइरहेको छ।”
उनका अनुसार उक्त सहयोगले प्रधानमन्त्रीको विकास दृष्टिकोणलाई कार्यान्वयन गर्न र त्यसको प्रतिफल नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। यद्यपि, सहयोग रकममध्ये कति अनुदान र कति सहुलियतपूर्ण ऋण हुनेछ भन्ने विषय खुलाइएको छैन।
यो सहयोग एडीबीको ‘कन्ट्री पार्टनर स्ट्राटेजी २०२४–२०२९’ अन्तर्गत नेपाललाई उपलब्ध गराउने पूर्वनिर्धारित सहायता योजनाअनुसार हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री र एडीबी अध्यक्षबीच करिब आधा घण्टा शिष्टाचार भेटवार्ता भएको थियो।
भेटका क्रममा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमार्फत नेपालको विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका थिए। दुवै पक्षबीच जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने, डिजिटलाइजेसनलाई प्रवर्द्धन गर्ने तथा पर्यटकीय सडक पूर्वाधार निर्माणमा सहकार्य गर्ने विषयमा पनि सकारात्मक छलफल भएको दाहालले जानकारी दिइन्।
प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि कुनै विदेशी विकास साझेदार संस्थाका उच्च अधिकारीसँग एक्लै गरेको यो पहिलो औपचारिक भेट हो।







