देशभर मनसुन सक्रिय, आज धेरै स्थानमा वर्षाको सम्भावना

User Image Prime TV News १ हप्ता अगाडि
Image of देशभर मनसुन सक्रिय, आज धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेस प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रका धेरै स्थानमा वर्षा हुने अनुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

महाशाखाका अनुसार मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।